नयाँ दमौली सवस्टेशनको ३८.८८ मिलियन डलरको सम्झौता हस्ताक्षर

एमसीए–नेपालले तनहुँ जिल्लाको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ । सो सम्झौतामा हस्ताक्षर भएको जनाउँदै नेपालस्थित अमेरिकी दूतावासले एमसिए नेपाल र सबै सरोकारवालाहरुलाई बधाई ज्ञापन गरेको छ ।

उक्त सम्झौतासँगै तीनवटा ४०० केभी सबस्टेशनहरूको निर्माणका लागि सबै सम्झौता प्रक्रिया पूर्ण भएको पनि दूतावासले जनाएको छ । नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग ऊर्जा प्रवाहको लागि महत्वपूर्ण बिन्दुको रूपमा काम गर्ने दूतावासको विश्वासको छ ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सन, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, एमसीए–नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

यस वर्ष अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धको ७७ वर्ष मनाइने भएको छ । दूतावासले फेशबुकमार्फत भनेको छ, ‘१९४७ देखि हाम्रो मित्रता खुला, जवाफदेही, र सहकार्यमा आधारित रहँदै आएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन यस साझेदारीको गर्व योग्य हिस्सा रहेको छ जसले समावेशी र दिगो आर्थिक वृद्धिको माध्यमबाट गरिबी घटाउन कार्य गर्दै आएको छ ।’