राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको औपचारिक भ्रमणमा जाँदा दुई करोड ४३ लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयले उक्त भ्रमणका क्रममा भएको खर्च निकासा गरेको हो । जेठ २९ गते राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएका थिए ।
जेनेभामा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
भ्रमणका क्रममा उनी जर्मनी पनि पुगेका थिए । उनी भ्रमण सकेर असार ५ मा स्वदेश फर्किएका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।