शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाइने बताएकी छन् ।
बिहीबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सीटीईभीटीमा देखिएका समस्या हटाउन पुनर्संरचना आवश्यक रहेकी बताएकी हुन् ।
बैठकमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने कलेजहरूले लामो समयसम्म पनि सम्बन्धन स्वीकृति नपाएको सन्दर्भमा छलफल भएको थियो । सम्बन्धनमा ढिलाइबारे मन्त्री भट्टराईले भनिन्, ‘सीटीईभीटीभित्र रोग छ, पुनर्संरचना गर्नु आवश्यक छ ।’
पुनर्संरचनाको प्रकिया तत्काल अघि बढाइने उनको भनाइ छ । उनले सम्बन्धन स्वीकृतिको समस्या सम्बोधन हुने गरी र पाठ्यक्रम परिमार्जन तथा गुनासो सुनुवाइ हुने गरी पुनर्संरचना प्रक्रिया अघि बढाउने बताइन् ।