कर्णालीमा कांग्रेसका चार मन्त्री सरकारमा सहभागी हुँदै

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम तय गरेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत विष्टका अनुसार मन्त्रीहरूको नामको टुंगो लागेको हो ।

उनका अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको छ ।

केन्द्रीय सत्ता समिकरण फेरिएसँगै कर्णाली सरकारमा कांग्रेसको कमब्याक भएको हो । केन्द्रमा भएको सहमति अनुसार, कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नेछ । यहाँ एमाले दलका नेता यामलाल कँडेल प्रदेशको मुख्यमन्त्री छन् ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर पुगेर पदभार ग्रहण समेत गरिसकेकोले आजै मन्त्रीहरुको सपथको तयारी गरिएको छ ।