कञ्चनपुरमा युवतीको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुक्रबर बिहान बेहोस बनाएर नियन्त्रणमा लिएका हुन् ।
बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई हिजो आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो । बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।
उनले बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्याएर चिकित्सकको टिमले चेकजाँच गर्ने बताए । “बाघ धेरै बेहोस छ, उठ्छ वा उठ्दैन भन्ने चेकजाँचपछि मात्रै थाहा हुन्छ”, उनले भने ।
हिजो उखुबारीमा बाघ हिँडेको हिड्यै गरेपछि प्राविधिक टोली बेहोस बनाउन असफल भएको थियो । हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो । घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो । त्यसै गरी रातभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको थियो । लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो । यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ ।
बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए ।