नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

बाघको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् ।

आज बिहान प्रातभ्रमणका क्रममा उनलाई बाघले आक्रमण गरेको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ । अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुलाई बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।