बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

Image

बागलुङको काठेखोला गाउँपालिकामा शुक्रबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् ।

गलकोट नगरपालिकाको हटिया बजारबाट जिल्ला सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको ध १ च ९५२ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गको काठेखोला गाउँपालिका–५ मिलनचोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका वडा नम्बर ३ हटियाकी २१ वर्षीया तारा गौतम, वडा नम्बर ४ का २६ वर्षीय नविन सुवेदी, २३ वर्षीय मदन शर्मा, वडा नम्बर ८ काँडेबासकी २५ वर्षीया लक्ष्मी पुन, १९ वर्षीया स्मृति बुढाथोकी, २५ वर्षीय विपन शर्मा, वडा नम्बर ९ रिस्मीका २४ वर्षीय गणेश सापकोटा र सवारी चालक वडा नम्बर १ दुदिलाभाटीका ३३ वर्षीय देवेन्द्र शर्मा घाइते भएका छन् ।

घाइतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो । घाइतेहरु रोट्रयाक्ट क्लव अफ बागलुङको पदस्थापना कार्यक्रमको लागि बागलुङ आउँदै गरेको जनाइएको छ । बलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।