सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु, कल्भर्टमुनि भेटियो शव

Image
वडाध्यक्ष यादवको मोटरसाइकल र शव भेटिएको स्थल

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो ।

जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडाध्यक्ष यादव मृत भेटिएपछि अहिले बर्दिबास जलेश्वर सडक अवरुद्ध छ ।

स्थानीयले घटना शंकास्पद रहेको दाबी गरेका छन् । तर, डीएसपी जयसवालले भने अहिले नै यादवको मृत्युको कारण भन्न नसकिने बताए ।