सर्वोच्चको पूर्णबैठकले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गरेन

सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)मा प्रधानन्यायाधीशले पेश गरेको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनसम्बन्धी संशोधनको प्रस्ताव अहिलेलाई अघि नबढ्ने भएको छ ।

सर्वोच्च अदालतका १८ जना न्यायाधीशको बैठकले एक साताभित्र संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने विषयमा प्रधानन्यायाधीश र सर्वोच्च बारबीच छलफल भएको थियो । तर, फुलकोर्टले वरिष्ठताका आधारमा न्यायाधीश छान्न प्रधानन्यायाधीशलाई नियमावलीले कुनै बाधा नपारेको भन्दै संशोधन गर्न नपर्ने सुझाव दिए ।

‘हामीहरूले वरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली संशोधन आवश्यक नभएको भन्यौं । बरू गर्नै परे पछि अदालतसम्बन्धी अरू नियमावलीसँगै गरौंला भन्ने कुरा भयो,’ बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘संवैधानिक इजलास वरिष्ठताकै आधारमा तोक्न, कसैगरी वरिष्ठ पाँच न्यायाधीशमध्ये कसैले हेर्न मिलेन वा विदा बसेको दिन भए रोष्टरमा भएकामध्ये त्यसपछिका वरिष्ठलाई समावेश गरे भैहाल्छ भन्ने कुरा भयो ।’

विघटनको मुद्दा सुनुवाइका लागि आइतबार गठन हुने संवैधानिक इजलास पनि प्रधानन्यायाधीशले वरिष्ठताकै आधारमा गठन गर्ने आंकलन गरिएको छ ।

बैठकले सर्वोच्च अदालतका काम काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा यसअघिको बैठकका निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार