प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार (भोलि) बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उनको चीन भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लेजीले समेत भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नेछन् ।
यस्तै, उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चमा सम्बोधन गर्ने कार्यक्रम छ ।
३२ जना सरकारी र ५५ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जनाको टोली प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुनेछ । बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमणमा संघीय संसद्का ९ सांसद पनि परेका छन् ।
ओलीसँगै चीन जानेमा सत्तारुढ दल एमालेका सांसदद्धय लिलानाथ श्रेष्ठ र बिजुला रायमाझी, नेपाली कांग्रेसका सांसदद्वय श्यामकुमार घिमिरे र अर्जुननरसिंह केसी तथा सांसदहरु रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रञ्जिता श्रेष्ठ र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
९ जना सांसद बाहेक प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडा रहेका छन् ।
त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालय का.मु सचिव अमृत बहादुर राई, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत रहेका छन् ।
प्रधानमन्त्री ओली मंसिर २० गते दिउँसो २ः१५ बजे स्वेदश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।














