ललितपुर : मल्लकालीन इतिहास बोकेको गोदावरी नगरपालिका-११ चापागाउँमा अवस्थित बज्रबाराही मन्दिरमा कर्माचार्य समुदायबाट नित्य पूजा नभएको वर्षौं भइसकेको छ।
भाकल गरेर पूजा गरे आफूले चिताएको पूग्ने जनविश्वास रहेको यस मन्दिरमा करिब ३५ वर्ष अगाडिदेखि नित्य पूजा नभएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले बताए।
हाम्रा बुबा बाजेले यही मन्दिरमा नित्य पूजा गर्दै आउनु भएको थियो, मन्दिरको आफ्नै गुठीको ७ रोपनी जग्गा र करिब २ रोपनी फूल रोप्ने बगैँचा पनि थियो, उनले भने, यी जग्गापछि क–कसले खाए, कहाँ हरायो त्यसपछि नित्य पूजाका लागि आवश्यक पर्ने सामग्री लिनका निम्ती आर्थिक अभावले पूजा हुन सकेन। अब फेरि नित्य पूजा संचालन गर्न एउटा अक्षय कोष स्थापना गरेर अगाडी बढ्ने योजना समितिले बनाएको छ।
सात दिन सप्ताह महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने भएको समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताए।
महायज्ञ आयोजना समितीका सल्लाहकार डा। नारायणहरी गजुरेलले मन्दिरको स्रोत अभावमा पूजा रोकिनु भनेको सबैको चासोको विषय बन्नुपर्ने बताए। परापूर्वकालदेखि चलिआएको कर्म रोकिनु राम्रो संकेत नभएकाले चलाउन जरुरी रहेको निवर्तमान चापागाउँका गाविस अध्यक्ष एवं कालेश्वर संरक्षण सेवा समितिका अध्यक्ष चरसुन्दर महर्जनले बताए।
काठमाडौं उपत्यकामा चारवटा बाराही रहेका छन्। स्वेत बाराही, नील बाराही, धुम्बाराही र बज्रबाराही। चार बाराही मध्ये बज्रबाराही अरु भन्दा चर्चित छ। यहाँ आई देवीको दर्शन गरे चिताएको पुग्ने र सुख शान्ति मिल्ने विश्वास छ। सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ।
बज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा रहेको छ। नेपाल संवत ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको इतिहास छ। पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका इतिहास रहेको समिती अध्यक्ष कर्माचार्यले जानकारी दिए। उनका अनुसार यो देवीको मन्दिर नेपाल सम्वत ८ सय ५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गरेको इतिहास छ।














