रवि लामिछानेको प्रश्न – बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान लिइयो कि लिइएन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै प्रश्न गरेका छन्।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रश्न गर्दै उनले चौधरीको कम्पनीको पनि सेयर बराबर देखिएको कारण अनुसन्धानको घेरामा ल्याउन सकिने जिकिर गरे।

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ,’ सभापति लामिछानेले भने।

तर, उनले चौधरीलाई थुन्नैपर्छ भन्ने आफ्नो भनाइ नरहेको बताए। ‘विनोद चौधरीलाई पनि थुन्नुपर्छ भन्या होइन। तर अनुसन्धानको दायरामा ल्याएर बयान लिन सकिन्थ्यो होला। त्यो लिइयो कि लिइएन? मैले अनुसन्धानको दायरामा राखेर लिइयो कि लिइएन भनेको हुँ?,’ उनले भने।