‘विश्वमै पहिलोपटक’ ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरिएको युक्रेनले जनाएको छ । युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनमार्फत उद्धार गर्दै गरिएको भिडिओ फुटेज पनि सार्वजनिक गरेको छ ।
जमिनमा रुसी सेना तथा बारुदी सुरुङ भएका कारण भाग्न नसकेका घाइते सेनालाई उद्धार गर्न ड्रोन प्रयोग गरिएको युक्रेनी सेनाको भनाइ छ ।कोस्ट्यान्टिन भ्लासेन्को नामका ती युक्रेनी सैनिक ४९१ दिनदेखि सीमामा फसेका थिए ।
उनी पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा तैनाथ थिए, जहाँ रुसी सेनाको आक्रमणको खतरा निरन्तर थियो। भ्लासेन्को र एक सहकर्मी कंक्रिट ड्रेनपाइपमा बनेको लुक्ने ठाउँमा बस्थे ।
उनीहरू सँगै काम गरिरहेका थिए। तर यस वर्ष फेब्रुअरी १४ मा भ्लासेन्कोका सहकर्मी भने रुसको ड्रोनबाट मारिए । भ्लासेन्को पनि विस्फोटक पदार्थको छर्राबाट घाइते भएका थिए ।
उनका दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। चोट यति गम्भीर थियो कि उनको दाहिने गोडामा ‘ग्याङ्ग्रिन’ (तन्तु वा टिस्यु मर्ने समस्या) फैलियो ।भ्लासेन्कोलाई तत्काल उपचारको खाँचो थियो, तर घटनास्थलमा पुग्न अत्यन्तै गाह्रो थियो ।
चारैतिर रुसी सेनाको खतरा थियो। जमिन बारुदी सुरुङले भरिएको थियो भने आकाशमा उडिरहेको ड्रोनले हरक्षण उनको ज्यान जोखिममा थियो । तर उनी त्यहाँबाट भाग्न सकेनन्, न त कोही उनीसम्म पुग्न सक्यो। त्यसैले उनलाई बचाउन ड्रोन प्रयोग गरियो ।
‘ग्याङ्ग्रिन’ रोगमा शरीरको प्रभावित भाग सड्न थाल्छ। उपचार नपाएका कारण अवस्था बिग्रँदै गएपछि भ्लासेन्कोले आफैँले आफ्नो खुट्टा काटेर अलग गरे।यसबिच युक्रेनी सेनाले उनलाई ड्रोनमार्फत खाना, पानी र औषधि पठाइरह्ययो ।
हरेक चार-पाँच दिनमा उनको आधार नजिकै बाँच्नका लागि आवश्यक चिज खसालिन्थ्यो । अनि उनले ती सामान घिस्रिँदै उठाउँथे। गम्भीर घाइते भए पनि यस्तो सहयोगले उनलाई बाँच्न मद्दत गर्यो ।













