झापा – सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई गृह जिल्लामा सम्मान गरिएको छ । सभामुख र उपसभामुख बनेपछि पहिलो पटक गृहजिल्ला पुगेका उनीहरुलाई बिहिबार सम्मान गरिएको हो ।
एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएका भन्दै विर्तामोड नगरपालिकाले उनीहरूलाई सम्मान गरेको छ।
घिमिरे नेकपा एमालेको तर्फबाट झापा क्षेत्र– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
शुक्रबारबाट विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को समुद्घाटन गर्न सभामुख घिमिरे झापा आएका हुन् । उनीहरूलाई शुक्रबार बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ ।















