प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिका दिनमा पनि नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन् ।
आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । कांग्रेस र एमालेबीच २०७९ को चुनावमै सहकार्य गर्ने प्रयास विभिन्न कारणले सफल नभएको ओलीले स्वीकार गरेका छन् ।
‘निर्वाचनको परिणामपछि पनि सहकार्यको प्रस्ताव सार्वजनिक रुपमै सार्वजनिक गरेका थियौँ। विभिन्न कारणले त्यतिबेला त्यो संभव नभए पनि मुलुकमा संकटमा आइपुगेका हौं। उत्पन्न हुँदा या लोकतन्त्र अप्ठ्यारोमा पर्दा सहकार्य गर्ने हाम्रो विगत पनि हो र भविष्यमा पनि यस्तो आवश्यकता पैदा हुन सक्छ। मुख्य प्रतिस्पर्धी हुनुको अर्थ हमेशा निषेध र विरोधको मनोविज्ञानका साथ अगाडि बढ्नु पर्छ भन्ने होइन,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।
४३ पृष्ठमा पेश गरेको ओलीको राजनीतिक परिवर्तनमा मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार किन बनाउनु परेको, हालसम्म के(के भयो र भविष्यमा केके हुने भन्नेबारेमा उल्लेख गरिएको छ । एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन एकजुट हुनुपर्ने ओलीको प्रतिवेदनमा उल्लेख छ ।
बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीमा गुटबन्दी मौलाउँदै गएकोतर्फ इंगित गरिएको छ । उनले पार्टीमा गुट बनाउने र अराजकता मच्चाउने काम स्वीकार्य नभएको उल्लेख गरेका छन् । ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ” प्रतिवेदनमा भनिएको छ ।
बिहान ११ बजेबाट पार्टी मूख्यालय च्यासलमा सुरु भएको बैठक भोलिसम्म जारी रहनेछ ।















