एलिना र विष्णुको सम्बन्ध विच्छेद, भनिन्- मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

Image

गायीका एलिना चौहान र विष्णु सापकोटाबीचको वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्धविच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरू सम्बन्ध टुंगिएको हो ।

एलिनाले मंगलबार सामाजिक सञ्जालबाट आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।’

उनले लेखेकी छन् –

“प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।”

उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ ।

उनले विष्णुसँग कुनै सम्पत्ति नलिई सम्बन्ध विच्छेद गरेकी छन् । उनीहरूले एकअर्काले लगाएका गहना भने फिर्ता गरेनन् । गएको वैशाखमा उनीहरूले विवाह गरेका थिए ।