‘लाज शरणम्’ हेरेपछि धुर्मुसलाई अँगालो हाल्दै बालेनले भने: एकदमै मज्जा आयो

Image

काठमाडौँ महनगरका मेयर बालेन्द्र शाह बालेनले फिल्म ‘लाज शरणम्’ हेरेका छन् ।

सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका उनले फिल्मसहित कलाकार  सीताराम कट्टेल (धुर्मुस) को खुलेर तारिफ गरे ।

सिनेमा हेरेपछि  बालेनले भने,  ‘यस्तो डिटेल दिनुभाछ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।’

बालेनले फिल्म ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत गाएका पनि छन् । जसले निकै चर्चा बटुलेको थियो ।

बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।