सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीले १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।
अस्पतालको आज बसेको सञ्चालक समितिको बैठकले १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
अस्पतालको सञ्चालन समितिको अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको उपचार नरोक्न निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशनअनुसार आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भएका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक रवि मल्लले बताए । सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोतको खोजी गर्न स्थानीय तहहरुसँग सम्झौता गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई वार्षिक पाँच सयसम्म बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको छ ।
तर अस्पतालमा वार्षिक ५ सयभन्दा बढी बालबालिका उपचारका लागि आउने गरेका छन् । अस्पतालका अनुसार यस वर्षको पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।
नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।















