प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- ‘एउटा कर्मचारी हटायो, अर्को नियुक्त गर्यो, सकियो’ (भिडियो)

विपक्षीहरूलाई आग्रह- उत्ताउलो नहुनुस्, चिसै पानीले नुहाउनुपर्छ

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको बारे संसदमा आफूले जवाफ दिनु नपर्ने बताएका छन् ।

युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारी हटाउँदा  संसद अवरोध गर्ने प्रतिपक्षी दलहरूप्रति कटाक्ष गरे ।

सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोइरहेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफूले संसदमा जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे ।

कुलमानलाई हटाउनुपर्ने कारणबारे सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बुधबार दुई पटक बसेका बैठक अवरुद्ध गरेका थिए।

यसप्रति लक्षित गर्दै ओलीले भने, ‘ प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’ 

प्रधानमन्त्री ओलीले माओवादीसहितका विपक्षी दललाई सस्तो भएको आरोप लगाए । उनले भने,‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’