समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन सुरू भएको छ । काठमाडौँको तीनकुनेमा राजावादीहरूले र भृकुटिमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन् । राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप मोर्चाले प्रदर्शनमा उत्रिएको हो ।
समाजवादी मोर्चाको जुलुस कोटेश्वर, कुपण्डोल, कालिमाटीलगायतका स्थानबाट निस्केर भृकुटिमण्डप पुगेर सभामा परिणत हुनेछ । यसैगरी राजतन्त्रवादीहरूले पनि विभिन्न स्थानबाट जुलुश प्रदर्शन गरिरहेका छन् ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।
बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ ।
यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेमा जम्मा हुने छ ।
राजतन्त्रवादीहरूको आन्दोलनको नेतृत्व राप्रपाका नेता दुर्गा प्रसाईंले गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो ।
गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तीनकुने-नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।














