नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँमा आफूले गरेको एक आन्दोलनले ‘राजा भन्नेको’ हालत फुस्किएको बताएका छन् । सोमबार बर्दियामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘माओवादीले एक दनक दिएपछि त्यो राजा भन्नेको हालत फुस्कियो । अब केही लाग्ने वाला छैन,’ दाहालले भने, ‘आन्दोलनको तागत हो क्या ।’
आन्दोलन र क्रान्ति भनेपछि माओवादीलाई उत्सवजस्तो लाग्न अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘तर, सरकार भनेपछि हामीलाई अलिकति झमेला जस्तो लाग्छ । तर त्यो पनि सिक्नुपर्ने छ ।’
अब बहुमत ल्याएर सरकार चलाउने उनले बताए । ‘बहुमत ल्याएपछि आफूले भनेअनुसार चलाउन सकिन्छ,’ उनले भने, ‘त्यसैले अरू जेसुकै भए पनि मत ०८४ सम्म प्रधानमन्त्रीको रेसमा छैन ।’
नुन खाएको कुखुराजस्तो बनिसकेको पार्टीलाई आफू सरकारमा गएर भ्रष्टाचार विरोधी कदम चालेका कारण जनतामा जानसक्ने बनाएको समेत प्रचण्डले जिकिर गरे ।
‘माओवादी नुनखाएको कुखुराजस्तो भइसकेका थियौँ,’ उनको भनाइ छ, ‘अहिले चोकचोकमा बसेर हामी भ्रष्टाचारविरोधी, सुशासनको पक्षधर भनेर खुल्ला बहस गर्न सक्ने अवस्था ल्याइएको छ ।’ अब लगातार जनताको बीचमा गए २०८४ को चुनावमा २०६४ को जस्तो अवस्था ल्याउन सकिने समेत प्रचण्डको भनाइ छ ।














