विद्यालय कर्मचारीले गरे ९ बुँदे सहमतिको विरोध, आन्दोलन घोषणा गर्दै (भिडियो)

Image

सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको ९ बुँदै सहमतिमा असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्‌ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

केही बेरअघि सकिएको आकस्मिक बैठकले आजै साँझ आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । हिजो सरकारसँग भएको सहमति नमान्ने र छुट्टै आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद्‌का अध्यक्ष गंगाराम तिवारीले बताए । “यसका विरुद्ध हामी आन्दोलनको घोषणा गर्दै छौँ,” उनले थपे, “शुद्ध शिक्षकहरूका लागि मात्रै सेवासुविधा सुनिश्चित गरेको छ । यी बुँदामा आपत्ति छ ।”

महासंघले कमर्चारीको वियषमा जानकारी नै नगरी सहमति गरेको परिषद् अध्यक्ष तिवारीले आरोप लगाए ।

शिक्षकहरूले आफूहरूलाई पीडित बनाएको उनको आरोप छ । उनले भने, “यो भयो यो भएन केही पनि भनेन महासंघले, आठ हजार तलब खाने कर्मचारीबारे ध्यान कहाँ गयो ?”

महासंघका पदाधिकारी राजनीतिक दलका नेता भएकाले आफ्नो माग पूरा नभएको उनको भनाई छ ।

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन रत्नराज्य माविमा भएको कार्यक्रममा विद्यालय कर्मचारीहरुले विरोध जनाएका थिए ।