दैलेखको मिथेन : ऊर्जा आत्मनिर्भरता र समृद्धिको नयाँ सम्भावना

Image

दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् । उक्त ग्याँस मिथेन रहेको छ जसले गाडी चलाउन, बत्ती बाल्न, विद्युत उत्पादन गर्न र हाइड्रोजन छुट्याएर मल उत्पादनमा समेत प्रयोग गर्न सकिन्छ।

ग्यास उत्पादन परीक्षण ७५ दिनभित्र ६५ करोड लागतमा गर्ने योजना छ। विस्तृत रिपोर्ट डिसेम्बरसम्म आइपुग्ने र त्यसपछि उत्पादन सुरु गरिने उद्योगमन्त्री दामोदर भण्डारी जनाएका छन् ।

२०७२ को भारतीय नाकाबन्दीपछि चीनसँग सहकार्य गरेर नेपालले ग्याँस अन्वेषणमा चासो देखाएको थियो। नेपालमा सम्भावित पेट्रोलियम क्षेत्रलाई १० ब्लकमा विभाजन गरिएको छ, तर हालसम्म दैलेखमै मात्रै उत्खनन् भएको छ। थप तीन ठाउँमा ड्रिल गर्दा ग्याँसको परिमाण अझै बढ्ने अपेक्षा गरिएको छ।

मिथेन ग्याँस के हो ?

दैलेखमा पत्ता लागेको मिथेन ग्याँसको चर्चा चुलिँदै गर्दा धेरैका मनमा प्रश्न उठेको छ— मिथेन ग्याँस भनेको के हो ? मिथेन एक प्रकारको प्राकृतिक ग्याँस हो, जुन विशेषगरी जमिनमुनि दबिएको अवस्थामा पाइन्छ। यो ग्याँस रंगहीन, गन्धहीन र अत्यधिक प्रज्वलनशील हुन्छ। सुरक्षा सुनिश्चित गर्न यसमा कृत्रिम गन्ध मिसाइन्छ। वातावरणमैत्री मानिने मिथेन ग्याँसलाई हाल विश्वभर स्वच्छ इन्धनको रूपमा प्रयोग गरिँदै आएको छ।

अन्य जीवाश्म इन्धनको तुलनामा मिथेनबाट वातावरणमा कम कार्बन उत्सर्जन हुन्छ। यही कारण यो ग्याँस जलवायु परिवर्तन नियन्त्रणमा सहयोगी मानिन्छ। मिथेन ग्याँस गाडी चलाउन, बिजुली उत्पादन गर्न, घरायसी प्रयोजनमा बत्ती बाल्न तथा उद्योगमा ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ। यसबाहेक, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया उत्पादन गर्न सकिने भएकाले मल उद्योगमा समेत यसको ठूलो महत्व छ।

दैलेखमा पत्ता लागेको यही मिथेन ग्याँसलाई व्यवस्थितरूपमा प्रयोग गर्न सकिएमा नेपाल ऊर्जा आत्मनिर्भरता र औद्योगिक विकासको दिशामा महत्वपूर्ण फड्को मार्न सक्छ।

कसरी काम गर्छ मिथेन ग्याँस?
मिथेन ग्याँसलाई विभिन्न इन्धन उपकरणमा प्रत्यक्ष प्रयोग गर्न सकिन्छ। कम्प्रेस्ड प्राकृतिक ग्याँस (CNG) को रूपमा सवारी साधनहरूमा प्रयोग गर्दा पेट्रोल–डिजेलको वैकल्पिक स्वच्छ विकल्प दिन्छ। ग्यास टरबाइनमार्फत मिथेन जलाएर विद्युत उत्पादन गर्न सकिन्छ, जुन विशेषगरी जलविद्युतको कमी भएको अवस्थामा उपयोगी हुन्छ।

त्यस्तै, उद्योगहरूमा ताप उत्पादनका लागि मिथेन एक सस्तो र दीगो ऊर्जा स्रोत बन्न सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, मिथेनबाट हाइड्रोजन छुट्याएर अमोनिया उत्पादन गर्न सकिन्छ, जुन मल उद्योगको लागि प्रमुख कच्चा पदार्थ हो। यसरी कृषिमा समेत मिथेनको प्रयोगले स्वदेशी मल उत्पादनमार्फत आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्‍याउन सक्छ।

नेपालमा मिथेन ग्याँसको सम्भावना र प्रभाव
दैलेखमा पत्ता लागेको मिथेन ग्याँसले नेपालको ऊर्जा प्रणालीमा ऐतिहासिक मोड ल्याउन सक्छ। हाल नेपाल पेट्रोल, डिजेल र एलपी ग्याँसजस्ता इन्धनका लागि पूर्ण रूपमा आयातमा निर्भर छ। मिथेनको उत्पादनले यसमा उल्लेखनीय कटौती ल्याउन सक्नेछ, जसले वार्षिक रूपमा अर्बौं रुपैयाँ बचत गर्न सकिने देखिन्छ।

नेपालको ऊर्जा संरचना हाल जलविद्युतमा केन्द्रित भए पनि मौसमीय प्रभावले अस्थिरता आउने गरेको छ। यस्तो अवस्थामा मिथेन ग्याँसले वैकल्पिक विद्युत स्रोतका रूपमा कार्य गर्न सक्छ। यस्तै, उर्जा-खपत धेरै गर्ने उद्योगहरू—जस्तै सिमेन्ट, स्टील र रसायन उद्योगमा—मिथेन प्रयोगले उत्पादन लागत घटाउन र आयात प्रतिस्थापन गर्न सक्नेछ।

ग्याँस उत्खनन, प्रशोधन, ढुवानी र वितरणका कार्यहरूले स्थानीय तहमा रोजगारी सिर्जना गर्नेछन्। साथै, चीनजस्ता प्राविधिक मुलुकहरूसँग सहकार्यबाट नेपालले प्रविधि, सीप र ज्ञान समेत आर्जन गर्न सक्नेछ।

 आर्थिक लाभको ठूलो सम्भावना

उद्योगमन्त्री दामोदर भण्डारीका अनुसार, दैलेखमा प्रारम्भिक रूपमा पत्ता लागेको ११२ अर्ब घनमिटर मिथेन ग्याँस मात्रबाट नेपालले झन्डै ५० वर्षसम्मको ऊर्जा आवश्यकता पूरा गर्न सक्ने देखिएको छ। विस्तृत अध्ययनपछि थप तीन स्थानमा ड्रिलिङ गरिएमा ग्याँसको परिमाण अझै बढ्न सक्ने अपेक्षा गरिएको छ। यदि मिथेन ग्याँसको उत्पादन व्यवस्थित र व्यावसायिक रूपमा गरियो भने नेपालले बहुआयामिक आर्थिक लाभ लिन सक्नेछ। यसले वार्षिक रूपमा इन्धन आयातमा अर्बौं रुपैयाँको बचत गर्न सक्नेछ। थप रूपमा, अतिरिक्त उत्पादन भएको अवस्थामा भारत वा अन्य मुलुकहरूमा ग्याँस निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहन्छ।

मिथेनबाट हाइड्रोजन छुट्याएर उत्पादन गरिने अमोनिया ग्याँसलाई मल उद्योगमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिने भएकाले कृषिमा स्वदेशी मल उत्पादनमार्फत आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्नेछ। यसका साथै, ग्यास प्रशोधन प्लान्ट, ढुवानी प्रणाली र प्याकेजिङ जस्ता सहायक उद्योगहरूको विकास हुने हुँदा नयाँ रोजगारी सिर्जना र निजी क्षेत्रको संलग्नता समेत बढ्नेछ। बैंक तथा वित्तीय संस्थाहरूले ऊर्जा पूर्वाधारमा लगानी बढाउन थालेमा नेपालको समग्र अर्थतन्त्रमा पूँजी प्रवाह तीव्र हुने र आर्थिक प्रणालीमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

ढिलो भए पनि आशाजनक सुरुवात
नेपालमा पेट्रोलियम अन्वेषणको इतिहास तीन दशकभन्दा पुरानो भए पनि प्रभावकारी कार्यान्वयन भने हालै मात्र सुरु भएको हो। सन् १९७८–७९ मा विश्व बैंकको सहयोगमा भएको एअरबोर्न म्याग्नेटिक सर्भेक्षणपछि नेपालले पेट्रोलियम सम्भावनालाई १० ब्लकमा विभाजन गरी अध्ययन अघि बढाएको थियो। तर लगानी, प्राविधिक ढिलाइ र राजनीतिक इच्छाशक्तिको अभावका कारण दशकौंसम्म यो प्रक्रिया निष्क्रिय रह्यो।

२०७२ सालको भारतीय नाकाबन्दीपछि सरकारले चीनसँग सहकार्य गर्दै ग्याँस अन्वेषणलाई प्राथमिकता दिएको थियो। अहिले १० वर्षपछि दैलेखमा पत्ता लागेको मिथेन ग्याँस त्यो पहलको सकारात्मक नतिजा हो, जसले नेपाललाई ऊर्जा, कृषि र औद्योगिक विकासका क्षेत्रमा नयाँ युगतर्फ उन्मुख गराएको छ।

दैलेखमा पत्ता लागेको मिथेन ग्याँस केवल एक प्राकृतिक स्रोतको पत्ता लाग्नु मात्र होइन, यो नेपालको ऊर्जा सुरक्षादेखि कृषि र उद्योगसम्मका क्षेत्रलाई आत्मनिर्भर र समृद्ध बनाउने अवसरको ढोका हो। यदि पारदर्शी नीति, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनका साथ अगाडि बढ्न सकियो भने मिथेन ग्याँस नेपालका लागि ‘गेम चेन्जर’ सावित हुन सक्छ।