नगरप्रमुख भट्टराईले तोडे सत्याग्रह

Image

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनसन तोडेका छन्। माइतीघर मण्डलामा अनसनरत मेयर भट्टराईलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार जुस खुवाएर अनसन तोडाएका हुन्। बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उनी यही साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा आज विभिन्न मागमा समझदारीपछि अनशन अन्त्य गरिएको हो ।

निमार्ण कार्यमा बाँसको प्रयोग गर्न सहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ । यस्तै, ‘खोटाङलाई बाँसको राजधानी’ का रूपमा विकास गरी बाँस अध्ययन तथा प्रवर्द्धन क्षेत्रको रूपमा विकास गर्नेलगायत विषयमा सहमति भएको छ ।

बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएका छन् ।

यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको ाप्रचारप्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले संचालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।