बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल रहेका सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् ।
गृह मन्त्रालय मातहत रहेको समरजंग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए । त्यस्तै, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।















