विकास बैंकहरुले ब्याजदर घटाउने

डेभलपमेन्ट बैंकर्स संघले विकास बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बैठकले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भद्र सहमति गरेको हो ।

वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गर्न बैंकलाई खुल्ला छाडे पनि विकास बैंकहरु भने संयमित हुँदै ब्याजदर घटाउन सहमत भएका हुन् । वाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स संघले लामो समयदेखिको कार्टेलिङ खारेज गर्दै निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई छाडेको छ।

संघले राष्ट्रिय र क्षेत्रीय स्तरका लागि दुई फरक ब्याज दर तय गरेको छ।

अहिले राष्ट्रियस्तरका विकास बैंकहरुले एक वर्षे मुद्दतीमा १०.६ प्रतिशत र क्षेत्रीयस्तरका बैंकले १०.८५ प्रतिशत ब्याज दिइरहेका छन् ।  साउन १ बाट राष्ट्रिय स्तरको विकास बैंकले ०.५० प्रतिशत बिन्दुले ब्याज घटाउने छन्  । यसो हुँदा उनीहरुको निक्षेपको ब्याज १०.१ प्रतिशत हुने छ ।

क्षेत्रीयस्तरको ब्याज राष्ट्रिय स्तरकोभन्दा ०.२५ प्रतिशत बिन्दुले बढी हुने छ । यसो हुँदा क्षेत्रीय स्तरका संस्थाले १०.३५ प्रतिशत ब्याज दर प्रकाशित गर्ने छन् ।