आर्थिक वर्षको पहिलो महिनामै २४ प्रतिशतले बढ्यो व्यापारघाटा

Image

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। 

भन्सार विभागको तथ्यांक अनुसार, अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष आयात ३१.०४ प्रतिशतले बढेको हो।

साउन महिनामा नेपालबाट हुने वस्तु निर्यात भने ६१.७२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनामा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।  चालू आर्थिक वर्षको साउनमा निर्यात बढेर ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यात बढे पनि आयातमा भएको बढोत्तरीका कारण साउनमै नेपालको व्यापार घाटा एक खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो घाटा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ रहेको थियो। यस वर्ष व्यापार घाटा २४.८८ प्रतिशतले बढेको हो।

आयात र निर्यात जोड्दा कुल वैदेशिक व्यापार दुई खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा कुल वैदेशिक व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेकोमा यस वर्ष ३५.४४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

यद्यपि, कुल व्यापारमा नेपालको निर्यात हिस्सा बढेको छ। अघिल्लो वर्षको साउनमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको पहिलो महिनामा बढेर १७.११ प्रतिशत पुगेको छ।