भोलिदेखि आन्तरिक हवाई भाडा करिब ६ प्रतिशत वृद्धि हुने

सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेअनुसार सोमबारदेखि नयाँ भाडादर लागू हुने भएको छ ।

वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ । सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ ।

‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तीमा भनिएको छ ।

कम्पनीले सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने जनाएका छन् । सरकारले नयाँ आथिक वर्षको बजेट अगाडि इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो ।