प्रदीप अधिकारीविरुद्ध पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको मुद्दा दायर हुँदै

Image

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा दायर गर्ने तयारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ब्यापक अनियमितता र भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरेको हो ।

अधिकारी हाल अख्तियारको हिरासतमा छन् । नलिनचोक हेलिप्याड प्रकरणमा बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेर उनलाई पक्राउ गरेको थियो ।

अधिकारीबिरुद्ध नलिनचोक हेलिप्याड प्रकरणमा साढे १३ करोड रुपैयाँ बिगोसहित मुद्दा दायर भइसकेको छ । नलिनचोक हेलिप्याड प्रकरणको थुनछेक प्रक्रिया सकिएलगत्तै मुद्दा दायर गरिने जनाइएको छ।

अख्तियार स्रोतका अनुसार पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ र केही दिनभित्र विशेष अदालतमा मुद्दा दर्ता गरिनेछ।

पोखरा विमानस्थल निर्माणको सुरुवाती चरणमा आयोजना प्रमुख रहेका प्रदीप अधिकारीपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पदमा रहेर अर्बौँ रकमको अनियमितता हुनेगरी निर्णय गराएको अख्तियारले दाबी गरेको छ।

अधिकारी २०७१ देखि २०७४ सम्म आयोजना प्रमुख र २०७८ माघदेखि हालसम्म महानिर्देशक पदमा रहेका छन्। पोखरा विमानस्थलमा गरिएको भ्रष्टाचारमा अधिकारीसँगै तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, प्राधिकरणका इन्जिनियर बाबुराम पौडेल, पूर्व महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेललगायतलाई प्रतिवादी बनाउने तयारी भइरहेको छ।

संसदीय समितिले करिब १० अर्ब रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै विस्तृत प्रतिवेदन अख्तियारलाई सिफारिस गरेपछि आयोगले थप सोधपुछ र कागजात संकलनमार्फत अनुसन्धान अघि बढाएको हो।