नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको ठूलो मात्राको भ्रष्टाचार प्रकरणमा औपचारिक रूपमा प्रतिवादी बनेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको छ।
अख्तियारले नियमित अनुसन्धानपछि परियोजना निर्माणका विभिन्न चरणमा लागत फुलाइएको, प्रक्रिया उल्लङ्घन भएको र सार्वजनिक धन हिनामिना भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। सो प्रकरणमा ठेक्का प्रक्रियादेखि कामको गुणस्तर, बिल भुक्तानी र सुपरिवेक्षणसम्मका विविध अनियमितता आरोपपत्रमा समेटिएको छ।
यसअघि पनि प्रदीप अधिकारी भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा जडािएका थिए। सोही प्रकरणमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। हाल उक्त मुद्दा पनि विशेष अदालतमै विचाराधीन छ।
दुवै मुद्दामा अधिकारी अदालतमा उपस्थित भई प्रक्रियासँगै अघि बढिरहेका छन्। अख्तियारले भने दुवै परियोजनामा न्यूनतम आर्थिक अनुशासन नअपनाइएका कारण राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरेको छ।













