सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

Image

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा आज राति ८ बजेसम्म आवेदन दिन सकिनेछ।

आईपीओमा हालसम्म २० लाख ४९ हजार २८५ आवेदकबाट २ करोड ३५ लाख ४ हजार ३७० कित्ताका लागि आवेदन परिसकेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता शेयर छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा तथा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।