अहिलेको माहोल बदलिएन भने, केपी ओलीका निम्ति जटिल बन्दैछ झापा–५

पाँच दिनको स्थलगत अध्ययनले देखाएको बदलिँदो मतदाताको मनोविज्ञान

Image

देशकै सबैभन्दा धेरै चासो र चर्चामा रहेको निर्वाचन क्षेत्र झापा–५ यसपटक सत्तारूढ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि सजिलो देखिँदैन। विगत तीन दशकदेखि लगभग निरन्तर जित हात पार्दै आएका ओलीका लागि यो निर्वाचन ‘फलामको चिउरा चपाउनु सरह’ हुने संकेत स्थानीय मतदाताले गरेका छन । हाम्रो ५ दिनको स्थलगत अध्ययनमा मतदाताको धारणा, विगतका मत परिणाम र हालको राजनीतिक माहोलले यस्तै देखाइरहेको छ।

यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने दमक नगरपालिका, कमल गाउँपालिका, गौरिगन्ज गाउँपालिका लगायत सबै पालिकाका सबै वडामा पाँच दिनसम्म बसेर गरिएको स्थलगत अनुगमनका क्रममा करिब पाँच सयभन्दा बढी मतदातासँग प्रत्यक्ष संवाद गर्दा मतदाताको मनोविज्ञानमा उल्लेख्य परिवर्तन देखियो। सहभागीहरूमध्ये अधिकांशले अघिल्लो निर्वाचनमा केपी शर्मा ओलीलाई मत दिएको स्वीकारे पनि यसपटक मत नदिने स्पष्ट धारणा व्यक्त गरे।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट केपी शर्मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दै सहज जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए।

त्यसबेला कुल ९८ हजार ६ सय ३१ मत खसेकोमा ५ हजार १ सय १७ मत बदर भएका थिए। सदर मत ९३ हजार ५ सय १४ थियो।
तर, यसपटक झापा–५ मा मतदाताको संख्या बढेर १ लाख ६३ हजार ३ सय ८९ पुगेको छ भने प्रतिनिधिसभा सदस्यका लागि २३ जना उम्मेदवार मैदानमा छन्। मतदाता संख्यासँगै उम्मेदवारको संख्या बढे पनि यो क्षेत्रमा प्रतिस्पर्धा मुख्यतः ओली केन्द्रित नै देखिन्छ।

यसपटक पनि एमालेबाट उम्मेदवार बनेका ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को आम निर्वाचनमा झापा–५ बाट निर्वाचित भइसकेका छन्। उनको निरन्तर जीतको अपवादस्वरूप २०६४ सालको संविधानसभा निर्वाचनमा भने यही क्षेत्रबाट नेकपा माओवादीका उम्मेदवारसँग पराजित भएका थिए। तत्कालिन समयमा माओवादीको जनलहरका बेला झापा–७ बाट विश्वदीप लिङ्देन १६ हजार ९९ मतसहित निर्वाचित हुँदा ओलीले १४ हजार ९ सय ५९ मत मात्र पाएका थिए। यसबाहेकका सबै उम्मेदवारीलाई ओलीले विजयमा पुर्याएको इतिहास छ ।

स्थलगत संवादका क्रममा मतदाताले यसपटक ओलीप्रति असन्तुष्टिको मुख्य कारणका रूपमा भदौ २३ र २४ को घटनालाई स्मरण गराए। उनीहरूको बुझाइमा उक्त घटनामा निर्दोष नागरिक, विशेषगरी बालबालिकाले ठूलो मानवीय क्षति बेहोर्नुपर्‍यो, जसको नैतिक जिम्मेवारी ओली नेतृत्वमाथि जाने उनीहरूको दाबी छ।

“हामीले पहिले भोट दियौं, विकास पनि देख्यौं,” दमकका मतदाता गोविन्द ढकालले भने , “तर विकासभन्दा पनि मानवीय संवेदनशीलता ठूलो कुरा रहेछ। त्यो हामीले महसुस गर्‍यौं।”

जब मतदातालाई ‘झापामा विकास भएको छ, त्यसका लागि ओलीलाई फेरि किन नछान्ने रु’ भन्ने प्रश्न राखियो, धेरैको जवाफ उस्तै थियो—
“विकास अब सिस्टमले गर्छ। यो समयको परिवर्तन हो। तर नेताले जनताको भावना बुझ्नुपर्छ, त्यो यहाँ भएन।”

पछिल्ला निर्वाचनहरुमा एमालेले बृद्धभत्तालाई प्रमुख चुनावी एजेण्डा बनाएर मतदाताका बीचमा जाने गरिरहेका बेला हामीले बृद्धभत्ता वितरण स्थलमै पुगेर जेष्ठ नागरिकसँग गरिएको संवाद झनै रोचक देखियो। भत्ता बुझेर बाहिर निस्किएका सहभागीमध्ये करिब ९० प्रतिशतले यसपटक ‘नयाँलाई’ मत दिने बताए।

जब उनीहरूलाई ‘बृद्धभत्ता त एमाले नेतृत्वको सरकारकै पालामा सुरु भएको हो, त्यसैले सूर्य चिन्हमा भोट जानुपर्छ होइन र रु भनेर पुनः प्रश्न गरियो, केही जेष्ठ नागरिकको जवाफले अहिलेको मनोविज्ञान झल्काउँछ “भत्ता भन्दा केपीको दम्भ महँगो भयो। त्यसैले मत बदल्छौं।”

नेपाली कम्युनिष्ट पार्टीबाट युवा नेता रन्जित तामाङ उम्मेदवार छन । निर्वाचनको माहोलमा उनको तयारी अहिले तीब्र देखिन्छ । तर, पनि उनको पक्षमा माहोल बढेको कुरा सुनाउने मतदाता भने अत्यन्त न्यून देखिए। कांग्रेस र राप्रपाका उम्मेदवार पनि मैदानमा भए तापनि, स्थानीय तहमा भइरहेको बहस आश्चर्यजनक रूपमा आफ्ना उम्मेदवारभन्दा बाहिर केन्द्रित देखियो।

कांग्रेस–एमाले समर्थकसमेत ‘हाम्रो उम्मेदवार’ भन्दा बढी बालेन र ओलीबीचको काल्पनिक प्रतिस्पर्धाको चर्चा गरिरहेका थिए। यसको अर्थ मतदाताको ध्यान परम्परागत दलभन्दा बाहिर सर्दै गएको संकेतका रूपमा लिन सकिन्छ।

रास्वपा र ‘बालेन लहर’को चर्चा चुलिँदा कांग्रेस र एमालेका स्थानीय नेताहरू स्वयं मतदाताबीच खुलेर आत्मविश्वासका साथ मत माग्न नसकेको अवस्था देखियो। दुवै दलका संगठन जरा गाडेर बसेका भए पनि यसपटक ती संगठनहरू अपेक्षित रूपमा सक्रिय देखिएनन्।

यद्यपि, एमाले झापा अध्यक्ष गिरीले भने पार्टी अध्यक्ष कुनै पनि हालतमा चुनाव नहार्ने दाबी गर्दै सामाजिक सञ्जालको हल्लाले भ्रम सिर्जना गरेको बताए। “पार्टी पंक्ति अब सक्रिय हुन्छ,” उनको भनाइ थियो।

त्यस्तै, ओली प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका झापाका इन्द्र भण्डारीले समेत अधिकांश स्थानमा गरिएको स्थलगत आँकलन सही भएको स्वीकार गरे। तर, पार्टीले अन्तिम समयमा माहोल पल्टाउने दाबी उनले पनि दोहोर्‍याए।

चुनावी तयारीसहित झापा पुगेका ओलीले प्रारम्भिक माहोल अनुकूल नदेखेपछि तुरुन्तै काठमाडौं फर्किएको दाबी समेत केही स्थानीयले गरेका छन्। यसपछि निर्वाचन सार्न प्रयासदेखि विभिन्न राजनीतिक कसरतसम्मका चर्चा चले पनि ती दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

घरदैलो अभियानका क्रममा ओलीसँग भएका संवादमा समेत पूर्ण आत्मविश्वास झल्किने खालको ऊर्जा नदेखिएको अनुभूति कतिपयले गरेका छन्। यद्यपि, चुनावका लागि अझै २४ दिन बाँकी छन् र यो अवधिमा राजनीतिक समीकरण फेरिन सक्ने सम्भावना भने अस्वीकार गर्न सकिँदैन।

अहिले मतदाताको भत्किएको मनोविज्ञान चुनावका दिनसम्मै कायम रह्यो भने केपी शर्मा ओलीका लागि यो निर्वाचन सहज हुनेछैन। तर, नेपालको चुनावी राजनीति अन्तिम समयसम्म अनिश्चित रहने भएकाले अन्तिम नतिजा भने मतदानको दिनमै तय हुनेछ।