सुनको भाउमा गिरावट, चाँदीमा सामान्य वृद्धि

Image

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ।

सोमबार प्रतितोला तीन हजार रुपैयाँले घटेको सुनको भाउ मंगलबार थप नौ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।

यता, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने भएकाले आगामी दिनमा पनि सुनचाँदीको भाउमा उतारचढाव रहने अनुमान गरिएको छ।