बागलुङको १३२ केभी बुर्तिबाङ सवस्टेसन नियमित सञ्चालनमा

Image

बागलुङमा १३२ केभी बुर्तिबाङ सवस्टेसन नियमित रूपमा सञ्चालनमा आएको छ। निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।

यो सवस्टेसन एक वर्षअघि सञ्चालनमा आउने योजना थियो, तर बडिगाड गाउँपालिकाका स्थानीयहरूले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको थियो। कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु गरिएको थियो र अघिल्लो वर्ष असार ७ गते सञ्चालन गर्ने योजना थियो।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार स्थानीयहरूले टावर निर्माण रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेपछि काम रोकिएको थियो। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि काम तीव्र गतिमा सम्पन्न गरिएको हो।

यो सवस्टेसन पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने उद्देश्यले कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङसम्म निर्माण गरिएको हो। बुर्तिबाङ सवस्टेसन ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माण गरिएको छ।

कपिलवस्तु–बुर्तिबाङ बीच ८६ किलोमिटर प्रसारण लाइन विस्तार गरिएको छ, जसमा ‘डबल सर्किट’को तार प्रयोग गरिएको छ। कुल लागत करिब रु चार अर्ब ७९ करोड रहेको छ। प्रमुख चौधरीका अनुसार फागुन २ गते निर्माण सम्पन्न भए लगत्तै परीक्षण गरिएको र अहिले नियमित रूपमा सञ्चालनमा आएको छ।

सर्वसाधारण र क्षेत्रका उद्योग, व्यवसाय र घरधुरीका लागि स्थिर र भरपर्दो विद्युत आपूर्तिको दिशामा यो सवस्टेसन महत्वपूर्ण कदम मानिएको छ।