काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि निरन्तर ओरालो लागेको सुनको भाउ यसदिन भने उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँले बढेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रुपैयाँले बढेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा कारोबार भइरहेको छ। आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
















