नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बिमा कम्पनीहरूलाई विदेशमा समेत सेवा विस्तार गर्न दिनुपर्ने बताएका छन्।
बिहीबार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नीतिगत सुधारमार्फत अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन आग्रह गरे। उनले बिमा प्राधिकरणसँग प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न पनि आग्रह गरे।
ढकालले नेपालका नियामक निकायहरू — नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड अझै परम्परागत नीतिमा सञ्चालन भइरहेको उल्लेख गरे। उनका अनुसार पुराना नीतिका कारण बैंक तथा वित्तीय क्षेत्रले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न सकेको छैन।
अध्यक्ष ढकालले वित्तीय रूपमा सक्षम हुँदाहुँदै पनि नीतिगत जटिलता र परम्परागत दृष्टिकोणका कारण व्यवसायिक गतिविधि विस्तारमा अवरोध आएको बताए। बिमा कम्पनी तथा समग्र बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने दृष्टिकोणमा समयानुकूल परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
“व्यावसायिक संस्थालाई नाफामुखी र गलत मनसाय राख्ने दृष्टिले मात्र हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने। कुनै एक व्यक्तिको गलत कार्यका आधारमा सम्पूर्ण संस्थालाई दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको उनको तर्क छ।
ढकालले वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा विस्तारयोग्य बनाउन नीतिगत सुधार अपरिहार्य रहेको जोड दिए।
















