बागलुङमा आर्थिक चलखेलमार्फत भारतीय नागरिकतावाहकलाई नेपाली नागरिकता

Image

बागलुङ नगरपालिकामा आर्थिक चलखेलमार्फत भारतीय नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ। वडा नम्बर १३ बाट ७६ वर्षीय एक भारतीय नागरिकलाई नागरिकता दिइएको विषय सार्वजनिक भएपछि घटनाले जिल्लाभरि चर्चा पाएको हो।

प्रारम्भिक विवरणअनुसार ती व्यक्ति २००९ सालमा जन्मिएका हुन्। उनले २०७५ सालमा, करिब ६६ वर्षको उमेरमा नेपाली नागरिकता लिएका थिए। यति ढिलो उमेरमा नागरिकता लिनु आफैंमा शंकास्पद देखिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुमानअनुसार केहि राजनीतिक पहुँच र ‘सेटिङ’का आधारमा यस्तो कार्य भएको हुन सक्ने आशंका छ। नेपाली काँग्रेसका स्थानीय नेताहरूको मिलेमतोमा प्रक्रिया अगाडि बढाइएकाले उनिहरुले यसमा आर्थिक चलखेल गरेको हुन सक्ने जानाकारहरु बताउँछन ।

टिभी अन्नपूर्णले प्राप्त गरेको कागजातअनुसार वडा नंः १३ का वडाध्यक्ष तथा काँग्रेस नेता नारायण शर्मा पौडेलले यसको चाँजोपाँजो मिलाएका थिए । उनले भारतीय नागरिक भएको थाहा हुँदाहुँदै प्रशासन कार्यालयका कर्मचारीलाई समेत गुमराहमा राखेर सिफारिस गरेको हुन सक्ने आशंका बाग्लुंगका जिल्ला प्रशासन अधिकारी कृष्ण प्रसाद आचार्य बताउँछन ।

नेपाली नागरिकता लिएका व्यक्तिका नेपाली र भारतीय दुवै नागरिकताका प्रतिलिपि टिभी अन्नपूर्णसँग सुरक्षित छ। घटनामा स्थानीय अन्य व्यक्तिहरू समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको दायरा फराकिलो बनाईएको आचार्य बताउँछन ।

नेपालको संविधान २०७२ ले दोहोरो नागरिकता मान्यता दिँदैन। धारा १४ अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन। नागरिकता ऐन २०६३ अनुसार गैरकानुनी रूपमा नागरिकता लिनु वा दिनु दण्डनीय अपराध हो। यस्तो कसुरमा संलग्न व्यक्तिलाई ६ वर्षसम्म कैद सजाय हुन सक्छ। सिफारिस गर्ने, सर्जिमिन बस्ने र प्रक्रिया मिलाउने व्यक्तिहरूमाथि समेत कारबाही हुन सक्ने कानुनी व्यवस्था छ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार घटनाको अनुसन्धान सुरु भईसकेकाले आवश्यक परे सिफारिस गर्ने वडाध्यक्षसहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने सम्मको तयारी छ ।

यता, घटनाको ढाकछोपका लागि नेपाली काँग्रेस पार्टीका केन्द्रीय नेतासँगै बागलुङ क्षेत्र नंः १ का उम्मेदवार भीम श्रीष सक्रिय भएको चर्चा छ।