सेयर बजारमा तीव्र गिरावट, नेप्से ४६.७८ अंकले घटेर २७९६ मा झर्‍यो

Image

बुधबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.७८ अंकले घट्दै २७९६ अंकमा झरेको हो।

बजार खुलेको पहिलो एक घण्टासम्म उतारचढाव देखिए पनि त्यसपछि भने कारोबार निरन्तर ओरालो लागेको थियो। यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लाग्दै नेप्से २८७५ अंकसम्म पुगेको थियो। त्यसयताका दुई दिनमा मात्रै बजार करिब ७९ अंकले घटेको छ।

आजको कारोबारमा ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ, जुन करिब ३८ प्रतिशतले कम हो।

समूहगत सूचकतर्फ सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ। यो समूह ३.४ प्रतिशतले घटेको हो। त्यस्तै बैंकिङ समूह १.८२ प्रतिशत, विकास बैंक १.६१ प्रतिशत, फाइनान्स २.०८ प्रतिशत, होटल तथा पर्यटन १.५६ प्रतिशत र हाइड्रोपावर समूह ०.७१ प्रतिशतले घटेका छन्।

यस्तै लगानी समूह १.८७ प्रतिशत, जीवन बीमा १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४३ प्रतिशत, माइक्रोफाइनान्स १.६४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत तथा अन्य समूह १.८३ प्रतिशतले ओरालो लागेका छन्।

यद्यपि बजार घटे पनि केही कम्पनीका सेयरमा भने सकारात्मक उछाल देखिएको छ। साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३ प्रतिशत तथा रिडी पावरको ५.७२ प्रतिशतले वृद्धि भएको छ।

गिरावटतर्फ कालिका पावरको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ। त्यसपछि पञ्चकन्या माइ हाइड्रोपावर ५.७७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ५.३७ प्रतिशत र ट्रेड टावर ४.४७ प्रतिशतले घटेका छन्।

कारोबार रकमका आधारमा भने रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।