अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : मन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले हाल अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल अहिले विस्तारै विकासको बाटोमा अघि बढिरहेको भन्दै उनले नेपालमा व्यापार व्यवसाय गर्नका लागि ठूलो अवसर रहेको बताएका थिए ।

उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिएको बताए । उनले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरे । यस क्रममा उनले आईटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको पनि स्मरण गराएका थिए ।

उनले भने, ‘‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठुलो अवसर छ । विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरेर राम्रो गरिरहेका छन् । आइटी क्षेत्र कोभिडपछि नेपालमा युवाले अरू बाहिर जाने अवस्था नभएकाले उनीहरूको दिमाग कम्प्युटरमा गयो । आइटी क्षेत्र राम्रो बन्दै गइरहेको छ । नेपाली युवा सफ्टवेयर निर्यात गरिरहेका छन् विदेशमा । नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन् । आइटी क्षेत्रका लागि धेरै ठुलो लगानी गर्न पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु ।’’

मन्त्री महतले नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।