नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ फेरि एकपटक अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा परेका छन्। सार्वजनिक गरिएको पछिल्लो ‘रिच लिस्ट’ अनुसार उनीहरू क्रमशः १५०औँ र १५१औँ स्थानमा परेका छन्।
घले दम्पती सन् २००९ मा पहिलो पटक शीर्ष २५० धनी व्यक्तिको सूचीमा प्रवेश गरेदेखि लगातार १८ वर्षसम्म उक्त सूचीमा कायम रहँदै आएका छन्। उनीहरूको व्यवसायिक सफलताको उच्चतम चरणमा भने उनीहरू ८०औँ स्थानसम्म पुगेका थिए।
हाल उनीहरूको कुल सम्पत्ति करिब १.२ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ। अष्ट्रेलियाको प्रतिस्पर्धी व्यवसायिक वातावरणमा निरन्तर सफलता हासिल गर्दै उनीहरूले अर्बपति समूहमा आफ्नो स्थान कायम राख्न सफल भएका हुन्।
वैश्विक स्तरमा ठूलो उपलब्धि हासिल गरे पनि घले र गुरुङले नेपालसँगको सम्बन्ध भने निरन्तर कायम राखेका छन्। पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनीहरूले नेपालमा लगानी र परोपकारी गतिविधिका सम्भावनाबारे चासो देखाउँदै आएका छन्।













