जेन–जी आन्दोलनका सहिद परिवारलाई रोजगारी अवसर, नेपाल विद्युत् प्राधिकरण ले सम्पर्कमा आउन गर्‍यो आह्वान

Image

नेपाल विद्युत् प्राधिकरण ले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते सम्पन्न आन्दोलनसँग सम्बन्धित सहिदका परिवारलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार “घाइतेलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२” को बुँदा नं. ११ मा सहिद परिवारका सदस्यलाई रोजगारी दिने व्यवस्था गरिएको छ। सोही व्यवस्था कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय बाट २०८२/०९/२० मा प्राप्त पत्रअनुसार विभिन्न व्यक्तिहरूले रोजगारीका लागि निवेदन दिएका छन्।

प्राधिकरणले ती निवेदकहरूको नामावली सार्वजनिक गर्दै, उनीहरू बाहेक अन्य कसैको हकदाबी भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित काठमाडौंस्थित प्राधिकरणको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

यसैबीच, प्राधिकरणले कतिपय आवेदकहरूले सहिदसँगको नाता प्रमाणित गर्ने कागजात नबुझाएको वा अपूर्ण कागजात पेश गरेको जनाएको छ। त्यसैले सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र केन्द्रीय कर्मचारी प्रशासन शाखामा पुगेर आवश्यक कागजात बुझाउन सूचित गरिएको छ।

सार्वजनिक गरिएको सूचीमा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर र काठमाडौं लगायत विभिन्न जिल्लाबाट आवेदन दिने व्यक्तिहरू समावेश रहेका छन्।

प्राधिकरणले प्रक्रिया पारदर्शी बनाउन तथा वास्तविक सहिद परिवारलाई मात्र सुविधा सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ।