सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार बहराइन, इजरायल, कुवेत र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको हो।
यसअघि इजरायल, बहराइन, कुवेत र लेबनानसहित पश्चिम एसिया तथा खाडी क्षेत्रका केही देशहरूमा श्रम स्वीकृति अस्थायी रूपमा रोकिएको थियो।
इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावका कारण उत्पन्न सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले ती देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रिया अस्थायी रूपमा स्थगन गरेको थियो।
इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि मध्यपूर्वमा सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै तत्कालीन अवस्थामा श्रम स्वीकृति रोकिएको मन्त्रालयले जनाएको थियो।















