भारत जान खोजेको सूचनापछि गोल्छालाई प्रहरीको चेतावनी – “यता उता नगर्नु”

Image

प्रहरी नियन्त्रणमा रहेका दीपक भट्टका साझेदार शेखर गोल्छालाई प्रहरीले फोनमार्फत यताउता नगर्न चेतावनी दिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका गोल्छा विभिन्न शङ्कास्पद तथा अवैध कारोबारमा संलग्न रहेको आशङ्कापछि प्रहरी निगरानीमा राखिएका छन्। प्रहरी स्रोतका अनुसार बिहीबार गोल्छालाई पक्राउ गर्ने तयारी गरिएको थियो। तर पक्राउको सूचना पाएपछि उनी भैरहवा हुँदै भारततर्फ जान लागेको जानकारी प्राप्त भएपछि प्रहरीले तुरुन्तै सम्पर्क गरी भाग्ने प्रयास नगर्न चेतावनी दिएको हो।

निजी क्षेत्रका केही सङ्गठनहरूले गोल्छालाई पक्राउ गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्ने तर्क गर्दै दबाब सिर्जना गरिरहेकाले हालसम्म उनलाई निगरानीमै राखिएको थियो। तर प्रहरी निगरानीकै बिच उनी स्थल मार्ग हुँदै भारत जान खोजेपछि आजै पक्राउ गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। गोल्छाले समेत आफूलाई प्रहरीले निगरानीमा राखेको र भारत जान खोजेमा पक्राउ गर्ने चेतावनी दिएको स्वीकार गरेका छन्।

यसैबिच, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा भट्ट र गोल्छाबिच मिलेमतोमा जालसाजीपूर्ण कारोबार भएको देखिएको उल्लेख छ। प्रतिवेदनअनुसार, शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा कृत्रिम माग सिर्जना गरी दोस्रो बजार प्रणालीलाई झोक्याउने र गोल्छाकै लगानीमा मूल्य बढाउने काम गरिएको थियो।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमार्फत गरिएको उक्त कारोबारमा दीपक भट्ट र शेखर गोल्छासँगै हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्भ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप मण्ड तथा रोहित गुप्ता संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। जालसाजीपूर्ण कारोबार उजागर हुने सङ्केत पाएपछि गोल्छाले फागुन २५ गते हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामा चैत ५ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो।