कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

Image

नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र महत्त्वपूर्ण बनाउन शुभकामना दिएका छन् ।

सोमबार सर्वसम्मत दलको नेता भएका आङ्देम्बे मंगलबार बिहान खड्कालाई भेट्न खड्का निवास गोल्फुटार गएका थिए । आफूलाई भेट्न पुगेका आङ्देम्बेलाई शुभकामना दिँदै खड्काले संसद्को समग्र प्रक्रियामा भूमिका सशक्त बनाउन सुझाए । 

‘यसपटकको संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठुलो राजनीतिक दलको रूपमा उपस्थित भएकोले संसद्को समग्र प्रक्रियामा भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहनेछ,’ खड्काले शुभकामना दिँदै भने ।

शुभकामना दिने क्रममा खड्काले थप भने, ‘निवर्तमान सह–महामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र/भाई भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनु भएकोमा हृदय देखिनै हार्दिक बधाई सहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’

उनले आङ्देम्बेलाई संवैधानिक परिषद् सदस्यको भूमिका पनि प्रभावकारी बनाउन पनि सुझाएका छन् । ‘संवैधानिक परिषद्को सदस्यको रूपमा उहाँको भूमिका थप प्रभावकारी र महत्त्वपूर्ण हुनेछ,’ खड्काले भने ।