रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ भने एक जना सामान्य घाइते छन् ।
भोलि लाग्ने वैशाखे पूर्णिमाको अवसरमा पूजा गर्न रुकुमपूर्वबाट गइरहेको जिप थवाङ गाउँपालिका अन्तर्गत जलजला क्षेत्रमै दुर्घटनामा परेको हो । जिप करिब ८०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बागालेका अनुसार जिपमा १८ जना सवार थिए । दुर्घटनास्थलमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । प्रहरीले उद्धारका लागि प्रयास जारी राखेको जनाएको छ ।















