नवलपरासी पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
कावासोतीमा नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान रोकिराखेको ट्रकको पछाडि स्कुटर ठोकिँदा पछाडि सवार महिलाको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने निशा कुमालको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटर पछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि चितवन लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। दुर्घटनामा स्कुटर चालक कावासोती नगरपालिका–८ बस्ने ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन्। उनको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














