बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा विभिन्न कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। ‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धान अघि बढाउँदै आज एकैसाथ विभिन्न स्थानमा छापा मारेको हो।
विभागका अनुसार काठमाडौंको सुन्धारास्थित कार्यालय, ललितपुरको हात्तीवनस्थित निवास, हेटौँडास्थित घर तथा कार्यालयमा छापा मारिएको हो। हात्तीवनस्थित निवासमा पुगेको टोलीले आवश्यक जाँचपछि केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान तीव्र बनाउँदै आएको विभागले पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि पनि निगरानी बढाएको छ। सोही क्रममा बानियाँमाथि समेत अनुसन्धान अघि बढाइएको जनाइएको छ।














