लेबनानमा इजरायली हवाई आक्रमण तीव्र, ३९ जनाको मृत्यु

Image

इजरायलले लेबनान का विभिन्न स्थानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको आक्रमणमा धेरै व्यक्ति घाइते भएका छन् भने ठूलो भौतिक क्षति पनि पुगेको छ ।

इजरायली सेनाले दक्षिणी लेबनान र राजधानी बेरुतका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको बताइएको छ ।

दक्षिण लेबनानको साक्साकिये सहरमा मात्रै एक बालिकासहित ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

त्यस्तै नबातिये क्षेत्रमा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरसाइकलमाथि ड्रोनबाट तीन पटकसम्म आक्रमण गरिएको जनाइएको छ । पहिलो आक्रमणपछि भाग्ने क्रममा बुवाको मृत्यु भएको र तेस्रो आक्रमण सिधै बालिकामाथि भएको विवरण सार्वजनिक भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने ती स्थानमा हिजबुल्लाह का लडाकुलाई लक्षित गरिएको दाबी गरेको छ । तर, मारिनेमा सर्वसाधारण समेत रहेको भन्दै अधिकारवादी संस्थाहरूले यसलाई ‘युद्ध अपराध’ हुन सक्ने चेतावनी दिएका छन् ।

जवाफमा हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको र त्यसमा ३ इजरायली सैनिक घाइते भएको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामै इजरायली आक्रमणबाट १२० भन्दा बढीको मृत्यु भइसकेको छ । युद्धविराम प्रयासका बाबजुद क्षेत्रीय तनाव बढ्दै गएको बताइएको छ ।