नेपाल बिमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ। यही वैशाख २९ गते बसेको प्राधिकरणको बैठकले हिमालयन रिइन्स्योरेन्सले नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको हो।
बिमा प्राधिकरणले भनेको छ, ‘बिमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बिमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए/गरेका पुनर्बिमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्यबाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाइएको बेहोरा प्राधिकरणको मिति २०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ।’
पैसा दुरुपयोग भएको अभियोगमा हिमालयन रिइन्स्योरेन्सबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि हिमालयन रिइन्स्योरेन्सका सञ्चालकविरुद्ध अनुसन्धान गरिरहेको छ।
रिइन्स्योरेन्सका पूर्वसञ्चालक साहिल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल प्रहरीको फरार सूचीमा छन्।
सोही कारण कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाइएको हो।















