उत्तरप्रदेशमा हावाहुरीका कारण १०४ जनाको मृत्यु

Image

भारतको उत्तरप्रदेशमा बुधबार आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या १०० नाघेको हो ।

उत्तर प्रदेश सरकारको विपद् विभागका स्पेसल ड्युटी अफिसर मनोज कुमारले अहिलेसम्म १०४ जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीसँग भनेका छन् ।

यस्तै ५२ जना घाइते भएको उनले जनाएका छन् । यस्तै करिब १३० वटा पशु मरेका छन् र ९८ वटा घर भत्किएका कुमारले बताएका छन् ।

बुधबार राति नेपालको सुदूरपश्चिम क्षेत्र र सो क्षेत्रसँगै जोडिएको भारतको उत्तरप्रदेशमा तीव्र आँधी र वर्षाका भएको थियो । जसले भारतीय क्षेत्रमा पर्खाल भत्किने, रूख ढल्ने र कच्ची घरहरू भत्किने घटना भएका समाचार बाहिरिएका छन् ।

भारतीय प्रशासनका अनुसार सबैभन्दा धेरै मानिसको मृत्यु वाराणसी, प्रयागराज र कानपुर मण्डलमा भएका छन् । स्थानीय प्रशासनका अनुसार प्रयागराजमा २१, मिर्जापुरमा १९, फतेहपुरमा ११ र कानपुर देहातमा २ जनाको मृत्यु भएको छ ।

प्रयागराज र कानपुर मण्डलका केही जिल्लामा बिजुलीका तार चुँडिनु र खम्बा ढल्नुका कारण धेरै घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो । ग्रामीण क्षेत्रमा बालीमा पनि क्षति पुगेका खबर छन् ।